बुध माघ ०५ | थारु संम्बत:२६४५
५ माघ २०७८, बुधबार
January 19, 2022

२० खिल्ली चुरोट सकिएको त्यो रात

२२ पुष २०७८, बिहीबार
२० खिल्ली चुरोट सकिएको त्यो रात

सुदूरपश्चिमको पहाडी जिल्लाको दुर्गम गाउँ। उत्तै जन्मेको उत्तै हुर्केको। उमेर बढ्दै गएपछि सुन्दर भविष्यको खोजीमा सहर पस्छ एक युवा। आफ्नो सुन्दर भविष्य बनाउने सपनासँगै परिवारको जिम्मेवारी बोकेको उ सहर पस्दा चैनका साथ बस्ने कुरै भएन। केही आफन्त र चिनजानका मान्छेहरुको सहयोगले उसले केही दिनमा काम पाउँछ। आफ्नो कर्मलाई शिरमा राखेर जीवनका सुख दुःखका खुड्किलामा रङ भर्ने क्रम पनि बिस्तारै सुरु हुन्छ।

त्यहीँ क्रममा एक दिन उसको एक सहरिया युवतीसँग भेट हुन्छ। गाउँमा हुर्केको मान्छे सहर पसेको धेरै समय भएको थिएन। सहरको जीवनशैलीलाई सुस्तगतिमा अनुभुत गर्ने क्रममा ती युवतीसँग कुरा हुँदै जान्छ। प्रशान्त महासागरको भन्दा बढी ती युवतीको प्रेमको गहिराइमा डुबेको उसलाई पत्तै हुँदैन। यहाँबाट सुरु हुन्छ उसको भविष्य र प्रेम कहानी। 

भविष्यको कुरा अर्को कथामा भनौंला। आज माया प्रेमको बारेमा नै केही शब्दजाल बुन्ने कोसिस गर्छु। हुन त यो मेरो कथा लेख्ने पहिलो प्रयास हो। धेरै ठाउँमा गल्ती हुनसक्छ। तर पनि एक लेखकलाई यति भनेर पन्छिने छुट छैन। र, पनि गल्ती सुधार्ने प्रयास भने निरन्तर रहने छ। अब फेरी चुरो कुरो मै जाउँ है त। म गउँबाट सहर पसेको एक युवाको प्रेमकथा सुनाउँदै थिए। प्रेमको महासागरमै डुबेपछि धेरै कुरा त तपाईंले पनि थाहा पाइसक्नुभयो होला। तर पनि केही छैन। म मजाले सुनाउँछु त्यो प्रेम कहानी। 

उमेर पुगेको युवाले परिपक्क युवतीसँग प्रेम गर्नु कुनै नौलो कुरा होइन। तर यो प्रेम कहानीमा भने केही नयाँ अवश्य भेटिने छ। माझीको जालमा माछा फसे जस्तै प्रेममा बेरिएको त्यो जोडी। दैनिक कुरा हुनु, घुम्न जानु लगायतको विषय त गौण हुन्छ आजकालको प्रेममा। तर पनि त्यो जोडीले प्रेमको परिभाषालाई आधारभूत रुपमा नै भएपनि पुष्टि गर्ने प्रयासमा गिरावट आउन दिएन। सबै चिज ठिकै चल्दै थियो। दुवैजना एक अर्कोप्रति निकै समर्पित पनि थिए। एक जनालाई टाउको दुख्दा अर्कोलाई ज्वरो आउँथ्यो। यति भने पनि बुझियो होला त्यो प्रेम कति पवित्र छ भनेर। 

यसरी नै ४ वर्ष पुरा हुन लागेको पत्तै भएन। अब बिहे गर्नुपर्ने बाध्यता दुवै सामू आइलाग्यो। दुवैको घरबाट समेत बिहेको दबाब आउन सुरु भयो। उक्त प्रेमलिलाको बारेमा दुवै परिवारका सदस्य पूर्ण रुपमा जानकार थिए। तर त्यो प्रेम जोडीलाई पूर्णता दिन भने एक परिवार पनि राजी भएन। त्यो जोडीले पनि परिवारकै भनेको मान्ने बचन गरे। र, त्यो प्रेम यात्रा सकिने संकेत देखिन थाल्यो। तर दुवै जनाले एक अर्कालाई गर्ने मायामा भने रत्तिभर कम भएन।  त्यसपछि पनि उनीहरुको कुराकानीसँगै कहिलेकाहीँ भेटघाट भइरहने गरेको थियो।

एक दिन पहिलेकै जसरी उनीहरुको भेट हुन्छ। त्यो भेटमा पनि अब छिट्टै अलग हुनुपर्ने विषयले नै प्राथमिकता पाउँछ। त्यही विषयमा बहस समेत हुन्छ। प्रेमिल वातावरणमा भएको भेटघाट सकिएपछि दुवै जना आ–आफ्नो घरतिर लाग्छन्। कहानी पनि सकिएको हुँदैन। माया सकिने त दिवा सपना हो। 

अब, शिर्षकको विषयमा समेत केही भनौं है त। शिर्षकले २० खिल्ली चुरोटको कुरा उल्लेख गरेको छ। यति भनेपछि अधिकांश पाठकले लेखक त चुरोट सेवन गर्नेवाला रहेछ भन्नु स्वभाविक हो। तर यो कहानीमा लेखकले चुरोट तानेको छैन। तान्छ/तान्दैन त्यो प्रश्नको जबाफ अर्को कथामा भनौंला। यो कहानीमा चुरोट जोडिनुको कारण अर्कै छ। एकदिन रातिको साढे १२ बजेको थियो। लेखेकसँगै भएको साथीले भने प्रेममा धोका पाएको हुन्छ। बिछोडको घाउलाई चुरोटको निकोटिनले निको पर्ने उसको चाहना हुनसक्छ। लेखक नजिकै रहेको त्यो दिलजलेले यो कथा लेख्दासम्म २० खिल्ली चुरोट तानेको हुन्छ। नत्र यो कथाको शिर्षक अर्कै थियो।

बाँकी रह्यो त्यो प्रेम कहानीको यात्रा, त्यो टुङ्गिन्छ वा पूर्णता पाउँछ ? त्यसको सम्पूर्ण जानकारी अर्को अंशमा।

Source:https://dineshkhabar.com/article/72398