काठमाडौं : सुरज पाण्डेले निर्देशन गर्न लागेको पहिलो फिल्म ‘परस्त्री’मा अभिनेत्री शिल्पा मास्के अनुबन्धित भएकी छन्।
सम्झौतापत्रमा आइतबार हस्ताक्षर गर्दै शिल्पा औपचारिक रुपमा फिल्मसँग जोडिएकी हुन्।
हस्ताक्षरपश्चात शिल्पासँग निर्माण टोलीले खिचेको फोटो सार्वजनिक गरिएको थियो।
शिल्पा अनुबन्धित भएसँगै फिल्ममा शिल्पा र अभिनेता कोशिश क्षेत्री मुख्य भूमिकामा देखिने पक्का भएको छ।
यसअघि नेपाली फिल्म ‘लभ लभ लभ’बाट सुरजले अभिनेताको रुपमा डेब्यु गरेका थिए। जसको लेखन तथा निर्देशन दीपेन्द्र के खनालले गरेका थिए।
‘परस्त्री’मा पनि कथा दीपेन्द्रको नै रहनेछ भने निर्माताको रुपमा शर्मिला पाण्डे रहेकी छन्।
यसअघि ‘द ब्रेकअप’, ‘कागजपत्र’, ‘सानो मन’ लगायत फिल्ममा अभिनय गरिसकेकी शिल्पा एउटा हिट फिल्मको प्रतीक्षामा छिन्। उनकाे अभिनय काैशलकाे तारिफ हुने गरे पनि फिल्म चल्न सकेका थिएनन्।
त्यस्तै गीतकार, संगीतकार तथा गायकसमेत रहेका अभिनेता कोशिशलाई पनि एउटा सफल फिल्मको पर्खाइ छ।
उनले ‘रातो गलबन्दी’ र ‘पर्व’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन्। उनी अभिनित फिल्म पनि व्यावसायिक रुपमा सफल हुन सकेका छैनन्।
‘पशुपति प्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’ जस्ता फिल्म बनाएका दीपेन्द्रको कथा रहेकाले ‘परस्त्री’लाई पनि प्रतीक्षित फिल्मको रुपमा हेरिएको छ।
आफ्नो पहिलो फिल्म सुरजले कस्तो बनाउँछन्, फिल्म तथा शिल्पा र कोशिशको काम दर्शकलाई कस्तो लाग्छ हेर्न बाँकी छ।
फिल्मका लागि अझै दुई मुख्य कलाकारको छनोट हुन बाँकी रहेको बताइएको छ। अडिसनबाट कलाकार छनोट भइरहेको छ।
सबै कलाकार पक्का भइसकेपछि केही दिन वर्कसप गरेर फागुन तेस्रो सातादेखि छायांकनमा जाने निर्माण टोलीले जनाएको छ।
निरज कँडेलको छायांकन तथा दीर्घ खड्काको सम्पादन रहने फिल्मका गीतमा अभिनेता कोशिशले नै संगीत भर्नेछन्।
फिल्मलाई नेपाली र हिन्दी गरी दुई भाषामा प्रदर्शन गर्ने तयारीमा निर्माण टोली रहेको छ।