काठमाण्डाै : आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज ओमानसँग खेल्दैछ।
खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ। ग्लोबल छनोटमा आठ देश सहभागी छन्। आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ। आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन्।
दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। नेपालले आज ओमानलाई हराउन सके सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। आज जिते सेमिफाइनल खेल्न क्यानडा वा फिलिपिन्समध्ये एकलाई हराए पुग्नेछ।
आजको खेल हारेमा बाँकी दुई खेल जित्नै पर्ने दबाब हुनेछ। ओमानमा भएको चार देशीय टी–२० श्रृङ्खलामा नेपालले ओमानलाई हराएको थियो। तर यूएई र आयरल्यान्डसँग पराजित भएको थियो। ग्लोबल छनोटबाट फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्नेछन्।
नेपालले टी–२० वरीयताको आधारमा सिधै ग्लोबल छनोटमा स्थान बनाएको हो। नेपाल टी–२० वरीयतामा १३ औँ स्थानमा छ। नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेलेको थियो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायके र कप्तान सन्दीप लामिछानेले पुनः नेपाल विश्व कपमा छनोट हुने विश्वास व्यक्त गरेका छन्। नेपालले भोलि फिलिपिन्ससँग खेल्नेछ।