बिफे जेठ २५ | थारु संम्बत:२६४६
२५ जेष्ठ २०८०, बिहीबार
June 8, 2023

ललितपुर मेयर कप क्रिकेट : एपिएफको लगातार दोस्रो जित

११ फाल्गुन २०७८, बुधबार
ललितपुर मेयर कप क्रिकेट : एपिएफको लगातार दोस्रो जित

काठमाडौं : ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपिएफ)ले लगातार दोस्रो खेल जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो।

यसअघि एपिएफले पहिलो खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको थियो। सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो। आजको खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपिएफले १६ दशमलव ५ ओभरमा नै ४ विकेटको क्षतिमा पूरा गर्‍यो।  

एपिएफको जितमा रोमा थापाले २३ रनमा अविजित रहँदै सर्वाधिक योगदान दिइन्। त्यसैगरी ममता चौधरी १४ रनमा अविजित रहिन् भने ज्योति पाण्डेले ११, इन्दु बर्माले १० तथा सरिता मगरले ९ बनाए। 

सुदूरपश्चिमका लागि इश्वरी विष्टले २ तथा रितु कनोजियाले १ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ तथा डोली भट्टले ११ रन जोडे।

एपिएफका लागि सोनु खड्काले ३ विकेट लिइन् भने करुणा भण्डारी र सरिता मगरले २/२ तथा राजमती ऐरीले १ विकेट लिएका थिए।