सोम्मार अगहन १२ | थारु संम्बत:२६४५
१२ मंसिर २०७९, सोमबार
November 28, 2022

गर्मी बढेसँगै देखिन्छन् यस्ता संक्रमण

१२ फाल्गुन २०७८, बिहीबार
गर्मी बढेसँगै देखिन्छन् यस्ता संक्रमण

देशभरको तापक्रम विस्तारै बढ्दै गएको छ। मौसम परिवर्तन हुँदा सरुवा रोगका संक्रमण बढ्दै जाने गर्छ। जसले गर्दा स्वास्थ्य संस्थाहरूमा मौसमी रोगका बिरामी बढ्दै जाने गर्छन्।

अन्य मौसमभन्दा गर्मी मौसममा विभिन्न प्रकारका संक्रमण धेरै काठमाडौंको टेकुस्थित शुक्रराज ट्रविकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। जलवायु परिवर्तन, वातावरण प्रदूषणले गर्दा तराई क्षेत्रमा मात्र नभई पहाडी भूभागमा समेत पछिल्लो समय गर्मीले समस्या उत्पन्न गर्दै आएको छ।

मौसमी संक्रमणजन्य सरुवा रोग लागेका बेला सावधानी नअपनाउँदा बर्सेनि धेरै मानिस प्रभावित हुने गरेका छन्। कोरोना महामारीले गर्दा पछिल्लो दुई वर्ष मौसमी रोगहरू ओझेलमा परे पनि यस्ता संक्रमणबाट बर्सेनि धेरै जना प्रभावित हुने गरेको डा. पुनले बताए। ‘दुई वर्षदेखि हाम्रोमा कोरोना महामारीले गर्दा मौसमी रोगहरू ओझेलमा परेका छन्‚’ उनले भने‚ ‘तर यस्ता रोगहरूले पनि हाम्रोमा धेरै प्रभावित हुन थालेका छन्।’

डा. पुन मौसम परिवर्तन हुने सिजन वा गर्मी मौसममा देखिने रोगहरू दुई तरिकाले हुने बताउँछन। पानीजन्य र कीटजन्य गरी दुई कारणले मर्मी मौसममा संक्रमण फैलने उनले बताए।

पानीजन्य रोग :

टाइफाइड : गर्मी मौससमा टाइफाइट ज्वरो धेरैमा देखिने गर्छ। साल्मोनेला समूहको जीवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ। साल्मोनेला समूहका धेरै खालका जीवाणु हुन्छन्। तर‚ टाइफाइड भएका बिरामीमा बढी मात्रामा साल्मोनेला टाइफाई र प्यारा टाइफाइडका जीवाणुहरू भेटिन्छन्।

दूषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यी रोगका जीवाणुहरू प्रायः गर्मी र बर्खायामको समयमा बढी सक्रिय हुने गर्छ। नेपालको सन्दर्भमा हेर्ने हो भने यो रोगबाट बढी मात्रामा १५ वर्षभन्दा कम उमेरका मानिस धेरै प्रभावित हुने गरेको देखिएको छ।

टाइफाइड भएपछि हनहनी ज्वरो आँउछ। त्यसबाहेक रिँगाटा लाग्ने, वाकवाकी लागि कसै कसैलाई बान्त पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ।

झाडापखला : झाडापखाला गर्मी मौसममा देखिने पानी जन्य अर्को सरुवा रोग हो। वर्षायाममा हामीले खाने धेरै जसो पानी दूषित हुने हुँदा झाडापखलाको प्रकोप देखिन्छ। शहरको तुलनामा ग्रामीण भेगमा यस मौसममा झाडापखलाको प्रकोप धेरै हुन्छ। वर्षायाममा खाने पानीको मुहान फोहोर हुने वा पानीमा दिसामा पाइने कोलिफर्म हुने हुँदा झाडापखला धेरै देखिने गर्छ।

हेपाटाइटिस ए, बी : खानेकुरा र पानीले गर्दा गर्मी मौसममा देखिने अर्को प्रमुख सरुवा रोग हेपटाइस ए, बी अर्थात् जन्डिस हो। बासी खानेकुरा र दूषित पानीले धेरैलाई जन्डिस देखिने गर्छ। शरीरमा पानीको मात्रा कमी हुनु तथा बजारमा राखिएका बासी खानेकुरा खाँदा जन्डिस देखिने गर्छ। सुरुमा ज्वरो आउने‚ शरीर गल्दै जाने जन्डिसको प्रमुख लक्षण हुन्।

आउँ :  दूषित पानी र खानेकुराले गर्दा आउँ देखिने गर्छ। आउँ परेपछि पेट दुख्ने, दिसामा रगत देखिने तथा ज्वरो आउने‚ लामो समयसम्म उपचार नगरे शरीरमा पानीको मात्र कम हुने र अन्त्यमा शरीरका महत्त्वपूर्ण अंगहरूले काम गर्न छोड्छ।

पानीजन्य रोगबाट कसरी बच्ने

डा. पुनका सुझावअनुसार पानीजन्य रोगबाट बच्न विशेषत यी कुरामा ध्यान दिनुपर्छ।

भाँडो सफा राख्‍ने : पानी राख्‍ने भाँडो सफा हुनु पर्दछ। भाँडो सफा हुँदाहुँदै पनि बाहिरको धुलो र कीटाणु पर्नसक्ने भएकाले पानीलाई सधैँ छोपेर राख्‍नुपर्छ।

उमालेको पानी पिउने :  सकेसम्म उमालेको पानी पिउनु पर्छ। काठमाडौं उपत्यकाका धेरै ठाउँमा खानेपानीको पाइपमा ढल मिसिने भएकाले सकेसम्म खानेपनी फिल्टर गरी उमालेर पिउनुपर्छ।

काँचो खानेकुरा नखाने : काँचो खानेकुरा सकेसम्म खानु हुँदैन। गाँजर, मुला, काँक्रा र स्याउजस्ता नपकाई खान मिल्ने खानेकुरा सफा पानीले राम्ररी पखालेर मात्र खानुपर्छ।

साबुन पानीले हात धुने : बाहिरबाट घर आउनेबित्तिकै हातधुने बानी बसाल्नु पर्छ। सकेसम्म खाना बनाउनुअघि साबुन पानीले हात धुनुपर्छ। खाना खानुअघि धोएको हात सफा कपडाले सुक्खा बनाएर मात्रै खाना खानुपर्छ। साबुन नलगाई धोएको हातबाट हैजा रोकिँदैन। त्यसैले साबुनको प्रयोग राम्ररी गर्नुपर्छ।

कीटजन्य रोग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलिजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कोटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार गर्मी मौसममा कीटजन्य विभिन्न रोग देखा पर्छन्।स्वाइन फ्लु‚ स्क्रब टाइफस‚ डेंगु‚ इन्फ्लुएन्जा गर्मी मौसम देखिने कीटजन्य रोग हुन्।

स्वाइन फ्लु : गर्मी मौसममा विभिन्न प्रकारका मौसमी फ्लु देखिने गर्छ। तीमध्ये स्वाइन फ्लु पनि एक हो। स्वाइन फ्लुका बिरामी पनि रुघाखोकीका बिरामीजस्तै हुने भएकाले आत्तिनु पर्दैन। तर‚ यसलाई हेलचेक्रयाइँ गर्न नहुने चिकित्सिकहरूको सुझाव छ।

स्वाइन फ्लुको संक्रमण भए रुघाखोकी लाग्ने, घाँटी दुख्ने र उच्च ज्वरो आउनेजस्ता लक्षण देखिन्छ। यस्ता लक्षण देखिने बित्तिकै चिकित्सकलाई देखाइहाल्नु पर्छ। स्वाइन फ्लुबाट जोगिन सफा सुग्घर रहने, कोही रुघाखोकीका बिरामी छन् भने उनीहरूबाट टाढा रहनुपर्छ। स्वाइन फ्लु एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले सकेसम्म भीडभाडमा नजाने, बाहिर हिँड्दा मास्कको प्रयोग गर्नुपर्छ।

स्क्रब टाइफस : गर्मी मौसमा देखिने अर्को सरुवा रोग स्क्रब टाइफस हो। एक प्रकारको संक्रमित किर्नाको टोकाइबाट स्क्रब टाइफस लाग्छ। यस्तो किर्ना जुम्राजस्तै सानो हुन्छ। यो मुसाको कान वा अन्य जीवजन्तुमा पनि भेटिन्छ।

यस्ता किर्नाले टोके १०४ डिग्रीसम्म ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खोकी लाग्ने, गर्धन र घाँटी वरपर मसिना बिबिरा आउने, धेरै पसिना आउने, ग्रन्थीहरू सुनिँदै जाने गर्छ। यस मौसमा घरवरपर धेरै झाडी हुने र त्यस्ता झारपात, झाडीमा पाइने भएकाले त्यस्ता ठाउँमा जाँदा किर्नाले टोकेको खण्डमा यो रोग लाग्ने गर्छ।

डेंगु : एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुन्छ। डेंगु सार्ने लामखुट्टेले पानी जमेको स्थानमा फूल पार्छ। अन्य लामखुट्टेले लामो समयदेखि जमेको पानी, फोहोर पानी, हिलोमा जमेको पानीमा फुल पार्ने भए पनि एडिस प्रजातिको लामखुट्टेले तीन चार दिनदेखि जमेको पानीमा मात्र फूल पार्ने गर्छ।

यसले सफा पानी जमेको ठाउँमा फूल पार्ने गर्दछ। वर्षाको पानी जम्ने टिनका डब्बा, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फूल पार्दछ। शहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिने गर्छ। 

मौसमी प्रकोपबाट जोगिने उपाय

डा. दाहालका अनुसार मौसमी रोगका संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय भनेको हरेक व्यक्तिले  सरसफाइमा ध्यान दिनु नै हो। धेरै झाडी भएको ठाउँमा जानु हुँदैन।

‘अब विस्तारै हाम्रो घर छेउमा भएको फोहोरमा लामखुट्टे आउने र विभिन्न खालका कीटजन्य रोगहरू लाग्ने गर्छ‚’ उनले भने‚ ‘त्यसैले गर्मी बढेसँगै हामीले विशेषगरी व्यक्तिगत र आफ्नो घर वरपरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ।’

यस मौसमा बासी खानेकुरा तथा काँचो खानेकुरा सफा नगरी खान नहुने डा. दाहालले सुझाव दिए।