मुगु जिल्लामा पर्ने रारा ताल नेपालकै सबैभन्दा ठूलो तालका रुपमा परिचित कर्णाली प्रदेशको प्रमुख पर्यटकीय केन्द्र हो। यतिबेला रारा घुम्नका लागि उपयुक्त मौसम मानिन्छ।
रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले पनि यो मौसम रारा भ्रमणका लागि उपयुक्त समय मानिएको हो।
रारा पुग्दैमा सबै मनोरम दृश्य देख्न पाइँदैन त्यसका लागि रारा तालबाट १ घण्टा उकालो चढी मुर्माटपमा जानु पर्दछ। यहाँबाट राराको मनोरम दृश्यसँगै कान्जिरोवा हिमाल, सिस्ने सैपाल हिमाल लगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मनोरम दृश्य मज्जाले नियाल्न पाइन्छ।
समुन्द्र सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालको लम्बाइ ५ किलोमिटर, चौडाइ तीन किलोमिटर मिटर र गहिराइ १६७ मिटर रहेको छ।
यस तालमा दुर्लभ असला जातका माछा, रानी ट्राउट, भ्यागुतोलगायत जलचर र ३०० प्रजातिका चरा पाइन्छन्। यस्तै, यस क्षेत्रमा कस्तूरी, रेड पाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु पनि अवलोकन गर्न सकिन्छ।
नेपाल सरकारले घोषणा गरेका मुख्य १०० वटा पर्यटकीयस्थल र कर्णाली प्रदेशले घोषणा गरेका मुख्य १० वटा पर्यटकीय स्थलमा समेत यो क्षेत्र सूचीकृत छ।