किभ। युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसी सेनाले युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा ‘‘सबै दिशाबाट हमला गरिरहेको’’ बताएका छन्।स्थानीय अधिकारीहरूका अनुसार आक्रमणका कारण परमाणु केन्द्रमा आगलागी भएको छ।‘रुसीहरूले तुरुन्तै आगलागी रोक्नुपर्छ, अग्नि नियन्त्रकहरूलाई अनुमति दिनुपर्छ, सुरक्षा क्षेत्र स्थापना गर्नुपर्छ’ कुलेबाले ट्विटरमा लेखेका छन्।
मेयर दिमित्री ओर्लोभले रुसी फौजलाई फायरिङ रोक्न आग्रह गरेका छन्। सो क्षेत्रमा आगोका लप्का र धुवाँ उडिरहेको भिडिओ पोस्टमा देखिन्छ।मेयर ओर्लोभले त्यहाँको अवस्था विश्वकै सुरक्षाका लागि खतरा भएको बताएका छन्। यसअघि बिहीवार राष्ट्रसङ्घीय निकायले परमाणु ऊर्जा केन्द्रनजिक आक्रमण रोक्न आग्रह गरेको थियो।यस्तै युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसी फौजको आक्रमणमा परेपछि युक्रेनी राष्ट्रपतिले “तत्काल कदम चाल्न” विश्वलाई आग्रह गरिरहेका छन्।
“युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्र अहिले जलिरहेको छ,” राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमा राखेको भिडिओमा भनेका छन्।उनले अगाडि भनेका छन्,“युरोपेलीहरू जाग्नुहोस्। आफ्ना राजनीतिज्ञहरूलाई भन्नुहोस् कि रुसी फौजले युक्रेनस्थित ऊर्जा केन्द्रमाथि गोली चलाइरहेका छन्।”
जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, ब्रिटेन, युरोपेली सङ्घ, जर्मनी र पोल्यान्डका नेताहरूका साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँग पनि आफू सम्पर्कमा रहेको बताएका छन्। बीबीसी