सोम्मार अगहन १२ | थारु संम्बत:२६४५
१२ मंसिर २०७९, सोमबार
November 28, 2022

कैलालीमा नयाँ नापीको लालपुर्जा पाउन सकस

६ बैशाख २०७९, मंगलवार
कैलालीमा नयाँ नापीको लालपुर्जा पाउन सकस

धनगढी : कैलालीमा नयाँ नापीको लालपुर्जा पाउन सकस हुन थालेको छ। पुनः नाप जाँच र हाल साविक अनुसारको लालपुर्जा लिन पटकपटक नापी कार्यालय र मालपोत कार्यालय जानुपर्ने बाध्यता रहेको सर्वसाधारणले बताएका हुन्। 

कैलाली जिल्लाको नयाँ नापी भएको धनगढी उपमहानगरपालिका क्षेत्रका जग्गा धनीले हालसाविक अनुसारको नयाँ जग्गाधनी प्रमाण पुर्जा पाउन निकै झन्झटिलो प्रक्रिया रहेको गुनासो गरेका छन्। नयाँ नापी भएपछि पुरानो लालपुर्जा प्रयोजनहिन हुने तर नयाँ लालपुर्जा हासिल गर्न नापी कार्यालय र मालपोत कार्यालयको चक्कर लगाउनु परेको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का स्थानीय तिलबहादुर चन्दले दिनेशखबरलाई बताए।

‘हालसाविक नगर्दासम्म पूरानो लालपुर्जा प्रयोजनविहीन हुन्छ। तर मालपोतमा स्रेस्ता बुझाएपछि लालपुर्जा पाउन मालपोत कार्यालय र नापी कार्यालयको चक्कर काट्नु पर्छ,’ उनले भने, ‘गोश्वारा हालको नाप नक्सा शाखाबाटै लालपुर्जा वितरण गरिएन। अहिले मालपोतमा दस्तुर लाग्छ। लेखनदासलाई दिनुपर्छ, अमिन पनि जग्गा नाप्न लैजानु पर्दा खर्च पनि बढी हुने गरेको छ।’ नापी कार्यालय मातहतको नाप नक्सा शाखले धनगढी उपमहानगरपालिका वडा नम्बर ९, ११ र १४ बाहेकमा यस अघि नै नयाँ नाप जाँच गरिसकेको छ।

यी तीन वडा बाहेकका जग्गा धनीले हालसाविकको नयाँ नक्सा पाउन मालपोत जानुपर्छ। तर यी तीन वडा बाहेकका जग्गा धनीलाई नाप नक्सा शाखाबाटै नयाँ लालपुर्जा वितरण गर्ने प्रावधान रहेको भए पनि तोकिएको समयमा लालपुर्जा लिन धेरै जग्गा धनी नआएको नाप नक्सा शाखा प्रमुख करनसिंह रावलले बताए। ‘नयाँ नापी सम्पन्न भएपछि वडा कार्यालयमार्फत सर्वसाधारणलाई सूचना दिइएको हो। तर पनि सबै जग्गा धनी लालपुर्जा लिन आएनन्,’ उनले भने, ‘त्यसपछि हामीले जग्गा नाप जाँचको स्रेस्ता, बाँकी पुर्जा, तामेली निवेदन, दर्ता किताव, पुर्जा वितरण भरपाइ किताव मालपोत कार्यालयमा बुझाइएका हौँ। अहिले त्यँहाबाट हालसाविकको पुर्जा लिँदा सर्वसाधारणलाई झन्झटिलो लागेको होला। नाप नक्शा शाखाबाट लगेको भए सहज हुन्थ्यो।’

मालपोतमा आएपछि नापी र मालपोत जानुपर्ने भएकोले सर्वसाधारणलाई झन्झटिलो लागेको हुनसक्ने नापी कार्यालय कैलालीका सूचना अधिकारी नवराज अवस्थीले बताए। ‘नाप नक्सा शाखाबाट लालपुर्जा लगेको भए सर्वसाधारणलाई सहज हुन्थ्यो,’ उनले भने, ‘अहिले मालपोत र नापी कार्यालय आउनुपर्ने भएर केही समस्या भएको महसुस गरेका हुनसक्छन्। तर भनेजस्तो झमेला हुँदैन। सहजै काम हुन्छ।’

नयाँ नापीपछि नाप नक्सा शाखाबाटै उसले सार्वजनिक गरेको सूचनाको आधारमा नयाँ लालपुर्जा नलिएपछि हालसाविकको पुर्जा पाउन मालपोत र नापी कार्यालय जानुपर्छ। नाप नक्शा शाखाले सजिलो पुर्जा आफैं वितरण गरेको तर ब्लकमा नापी भएको जग्गाको पुर्जा वितरण गर्न जटिल भएकोले मालपोत कार्यालयमा बुझाएको मालपोत कार्यालयका सूचना अधिकारी हरिप्रसाद केसीले बताए। ‘ब्लकमा नाप जाँच भएको जग्गाको हकमा हालसाविकको लालपुर्जा दिन केही समस्या छ,’ उनले भने, ‘हामी प्रशासन हेर्ने कार्यालय मात्रै भएकोले कित्ता छुट्याउन सेवाग्राहीले नापी कार्यालय जानुपर्छ। विवाद छ भने अदालत पनि जानुपर्छ, त्यसैले अलिक समस्या छ।’

नयाँ नाप जाँच गर्दा फिल्डमा जग्गा धनी नआएको अवस्थामा ब्लक नापी गर्नु परेको बताइएको छ। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९, ११ र १४ र घोडाघोडीको २ नम्बर वडाको नयाँ नापी बमोजिमको लालपुर्जा वितरण भने अहिले भइरहेकोले ती वडाका जग्गा धनीलाई नाप नक्सा शाखाबाट नयाँ लालपुर्जा दिइरहेको बताइएको छ। यसैगरी घोडाघोडीको ६ नम्बर वडाको नाप जाँच सक्किएको र ३ नम्बर वडामा जग्गा नापी थालिएको छ।