मंगर सावन ३१ | थारु संम्बत:२६४५
३१ श्रावण २०७९, मंगलवार
August 16, 2022

चीनद्वारा नेपाल सरकारको निर्णयको प्रशंसा

१० असार २०७९, शुक्रबार
चीनद्वारा नेपाल सरकारको निर्णयको प्रशंसा

छिमेकी चीनले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी)मा सहभागी नहुने नेपाल सरकारको निर्णयको स्वागत गरेको छ ।

नेपाललाई लिएर दुई शक्ति राष्ट्रबीच वाकयुद्ध चलिरहेकै बेला अमेरिकी सैन्य स्टेट पार्टनससीप अस्वीकार गरेकोमा चीनले नेपालको प्रशंसा गरेको हो । चिनियाँ विदेश मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डता रक्षामा सधैं सघाउने प्रतिबद्धतासमेत जनाए । ‘नाटोलाई चिनियाँबिरुद्ध गलत सूचना नफैल्याउन, विवाद निम्त्याउनेगरी रणनीतिक मार्ग निर्माण नगर्न र नयाँ शीतयुद्ध ननिम्त्याउन’ पनि उनले चेतावनी दिएका छन् ।

अमेरिकी शैलीको प्रजातन्त्र’दयगत प्रशस्त प्रश्न उठाइएको र आलोचना गरिएको पनि प्रवक्ता वाङ वेनबिनले जिकिर गरे । अमेरिकी नेताले प्रजातन्त्रलाई व्यक्तिगत र समूहगत फाइदाका लागि प्रयोग गर्ने र अमेरिकी साम्राज्यवादको पक्षपोषण गर्ने हतियारका बनाएकोसमेत उनले आरोप लगाए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अमेरिकाद्वारा अघि बढाइएको एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय लिएको हो ।

‘नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डता कायम राख्न, स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिबद्धतालाई चीनले समर्थन गरिरहने छ,’ प्रवक्ता वेनबिनले भनेका छन्, ‘क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धि रक्षाका लागि नेपालसँग मिलेर काम गर्न चीन तयार छ ।’ प्रवक्ता वेनबिनले ‘नेपालका राजनीतिक दल र समूह, सरकार, सेना तथा नेपाली समाजका विभिन्न तप्काले एसपीपीलाई ‘इन्डो–प्यासिफिक रणनीति’सँग नजिकसँग जोडिएको सैन्य सुरक्षा अवधारणा भनेका छन् ।

‘उनीहरू यसलाई राष्ट्रिय हित र लामो समयदेखि अपनाउँदै आएको असंलग्न परराष्ट्र नीतिविपरीत रहेको मान्छन्,’ उनले भनेका छन् ।