अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

कैलालीमा छाडा चौपायाले दुर्घटना बढ्दै, ३ महिनामा २ जनाको मृत्यु, २२ घाइते

१८ श्रावण २०७९, बुधबार
कैलालीमा छाडा चौपायाले दुर्घटना बढ्दै, ३ महिनामा २ जनाको मृत्यु, २२ घाइते

वीरेन्द्र भट्ट, धनगढीः छाडा चौपाया व्यवस्थापन ठुलो चुनौतीका रूपमा देखिएको छ। स्थानीयले आफ्ना गाईगोरू छोड्दै जाने प्रवृत्तिका कारण समस्या विकराल बन्दै गएको हो। कतिपय स्थानीय तहले छाडाचौपाया नियमन गर्न कार्यविधि लागू गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।

कैलालीका १३ वटै पालिकामा छाडा चौपायाको आतंक नै छ। विकराल समस्याका रूपमा रहेको छाडा चौपायाको समस्या समाधान गर्ने प्रतिबद्धता गरेका नवनिर्वाचित जनप्रतिनिधिका लागि यो विषय अहिले टाउको दुखाइ बनेको छ। धनगढी उपमहानगरले गौशला निर्माण गरेर व्यवस्थापन गर्ने बताएपनि उचित व्यवस्थापन नहुँदा समस्या भइरहेको स्थानीयको गुनासो छ। 

२०७५ सालमा ६ महिनाका लागि वनस्पति उद्यान केन्दको जमिन लिजमा लिएर गौशाला सञ्चालन गरिएको थियो। गौशाला सञ्चालनका लिएको जमिनको म्याद सकिएपछि तीन पटक धनगढी उपमहानगरलाई पत्राचार गरेपनि सुनुवाई नभएको वनस्पति उद्यान केन्द्र धनगढीका प्रमुख गंगादत्त भट्टले बताए। ‘६ महिनाका लागि लिजमा लिएको गौशलाको म्याद सकिएपनि उपमहानगरले पुनः नवीकरण पनि गरेको छैन, हटाएको पनि छैन। उपमहानगरको यस्तो कार्यबाट हामी हैरान भएका छौँ,’ उनले भने।

छाडा पशुचौपाया व्यवस्थापनमा उपमहानगरले बजेट विनियोजन गरेको भएपनि चालु आर्थिक वर्ष सुरु भएको धेरै समय नभएकाले कार्यान्वयन गर्न नीतिगत समस्या देखिएको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष धर्मराज ओझाले बताए। ‘पशु चौपाया व्यवस्थापनका लागि नीतिसहितको कार्यक्रम उपमहानगरसँग भएकाले छिट्टै कार्यान्वयनमा आउनेछ,’ उनले भने।

जिल्लाका अधिकांश स्थानीय तहले आफ्नो वार्षिक बजेटबाट छाडा  चौपाया व्यवस्थापनका लागि अहिलेसम्म करोडौं रकम खर्च गरिसकेका छन्। तर समस्या भने यथावत छ। पूर्वपश्चिम राजमार्ग, बजार तथा मुख्य सडकहरूमा जताततै छाडा चौपायाको बथान देखिन्छ। छाडा पशुचौपायाका कारण किसानको बालिनाली नोक्सानी सँगसँगै सवारी दुर्घटना समेत भइरहेको छ। छाडा चौपायाको नियमन कहिँकतैबाट नभएपछि सडक दुर्घटनाक्रम बढेको छ। 

३ महिनामा २ जनाको मृत्यु,  २२ घाइते

वैशाखदेखि साउन दोस्रो सातासम्म मात्र छाडा चौपायाकै कारण २ जना पुरुषको मृत्यु भएको छ भने २ जना महिला घाइते भएका छन्। यस्तै  दुर्घटनामा १२ पशुचौपाया मरेका छन् भने १५ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको तथ्यांक छ। त्यस्तै छाडा चौपायाकै कारण थप २० जना पुरुष घाइते भएका छन्। 

कैलाली र कञ्चनपुरमा गत आर्थिक वर्षसम्म मात्र छाडा पशु चौपाया व्यवस्थापनको नाममा स्थानीय तहहरुले ३ करोड बढी रकम खर्चेका छन्। तर त्यो बालुवामा पानी खन्याए सरह भएको छ। छाडा चौपाया व्यवस्थापन गर्ने काम सम्बन्धित स्थानीय तहको भएकाले ट्राफिक प्रहरीले सडकबाट पन्छाउने काम मात्र गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंहले बताए। ‘धनगढीभित्र विगतको तुलनामा छाडा पशु चौपायाको समस्या कम देखिए पनि राजमार्ग लगायत क्षेत्रमा भने ठुलो समस्याको रुपमा देखिएको छ’ उनले भने।