बुटवल । रुपन्देहीको तिलोत्तमा १७ की ३० वर्षीया वर्षाकुमारी चौधरीले आफ्नै श्रीमानविरुद्ध जबरजस्ती करणी ( बलात्कार ) गरेको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।
चौधरीले इलाका प्रहरी कार्यालय बुटवलमा श्रीमान् मोहन चौधरी विरूद्ध जबरजस्ती करणीको उजुरी दिएकी हुन् । मोहनले साउन १५ गतेदेखि पटक पटक आफूमाथि जबरजस्ती करणी र कुटपिट गरेको भन्दै वर्षाले कारबाहीको माग गरेकी छन् । गत साउन १४ गते राति मदिरा पिएर आएका मोहनले कुटपिट गरेको जोहेरीमा उल्लेख छ ।
श्रीमानले घरखर्च नदिने, यातना दिने र सासू जागेश्वरी चौधरी एवम् ससुराले समेत बेवास्ता गर्दा आफ्नो बच्चाको लालनपालनमा समस्या भोगेको जाहेरीमा उल्लेख छ ।
उजुरी दिने वर्षा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख चौधरीकी बुहारी हुन् । वर्षाले सासूलाई समेत झिकाएर छानबिनको माग गरेकी छन् ।
वर्षाका श्रीमान मोहन नवलपरासीस्थित आफन्तकोमा रहेको जानकारी आएकाले उनलाई ल्याएर थप अनुसन्धान अघि बढाउने इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।
परिवारका अनुसार वर्षाले विवाहित र दुई सन्तान भए पनि आफू टुहुरी र अविवाहित भएको भन्दै झुक्याएर मोहन सँग बिहे गरेकी थिइन् ।
पछि विवाहित र दुई सन्तानकी आमा भएको थाहा भएपछि उनीहरूबीच असमझदारी उत्पन्न भएको थियो । नवलपरासी बर्दघाट माइत भएकी वर्षाले कपिलवस्तु बांणगंगाका पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद समेत गरेकी थिइनन् ।
दुई सन्तानलाई माइत राखेर उनी कपिलवस्तुमा एक्लै बस्दै गर्दा मोहनसँग सामाजिक सञ्जालमार्फत चिनजान भई विवाह भएको थियो ।