बिफे जेठ २५ | थारु संम्बत:२६४६
२५ जेष्ठ २०८०, बिहीबार
June 8, 2023

मनपरेको हाकिम नआए फिर्ता ?

२५ श्रावण २०७९, बुधबार
मनपरेको हाकिम नआए फिर्ता ?

आफू अनुकूल कर्मचारी नपाएको भन्दै पालिकाले मन्त्रालयले पठाएका कर्मचारीलाई फिर्ता पठाउने प्रवृत्ति बढेर गएको छ । साउन महिनामा मात्रै साविकको धौलागिरिका दुई पालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएका प्रशासकीय अधिकृतलाई फिर्ता पठाएका छन् । 

बाग्लुङको निसीखोला गाउँपालिकाले मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएका कर्मचारी फिर्ता पठाएको छ । मन्त्रालयले खटाएका कर्मचारीलाई फिर्ता पठाएर गाउँपालिकाले प्रशासन शाखा प्रमुखलाई निमित्तको जिम्मेवारी दिएको छ । गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले प्रमुख प्रशासकीय अधिकृतका रूपमा गाउँपालिकामा पठाएका ध्रुव रिजाललाई काम गर्न दिएनन । निवर्तमान प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्य सरुवा भएपछि खाली भएको ठाउँमा आएका रिजाललाई काम गर्न नदिइ प्रशासन शाखा प्रमुख दिलीपकुमार चन्दलाई अध्यक्ष घर्तीले निमित्त बनाए ।

मन्त्रालयको मिति २०७९ साउन ५ गतेको पत्र लिएर प्रशासकीय अधिकृतका रूपमा काम गर्न आउनुभएका रिजाललाई अध्यक्ष घर्तीले हाजिर गर्न नदिनुभएको हो । ‘मन्त्रालयले पठाएको ठाउँमा काम गर्न आएँ, दुई दिनसम्म कार्यालयमा पनि गएँ तर हाजिर गर्न पनि दिइएन, काम गर्न पनि दिइएन’, रिजालले भन्नुभयो, ‘पालिकामा नराख्ने भए फिर्ता गरेको पत्र दिनुस् भनेर पनि भनेँ तर त्यो पनि दिइएको छैन ।’

रिजालले हाजिर गराई पाउँ भनी साउन १६ गते गाउँपालिका उपाध्यक्ष प्रेम घर्तीलाई निवेदनदिएका थिए ।  त्यो निवेदन १९ गते दर्ता भएको छ । रिजालले भन्नुभयो, ‘आजसम्म पनि त्यसको जवाफ पाउन सकेको छैन, यसले गर्दा समस्या भएको छ ।’ 

पालिकामा रहेका स्वार्थ समूहका कारण अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता गरी प्रशासन शाखा प्रमुखलाई निमित्त दिएको हुन सक्ने निसीखोलाका एमाले नेता भूमिराज घर्तीले बताए । गाउँपालिका अध्यक्ष घर्तीले भने समन्वय नै नगरि मन्त्रालयले आफूखुसी पठाएका कर्मचारीलाई काम गराउन नसकिने बताए। गाउँपालिका अध्यक्षलाई सम्मान गर्नेखालको प्रमुख प्रशासकीयले मात्रै जनताका काम गर्न सक्ने घर्तीको प्रतिक्रिया छ । 

यसअघि बाग्लुङकै काठेखोला गाउँपालिकाबाट सरुवा भइ म्याग्दीको मङ्गला गाउँपालिका पुग्नुभएका चूर्णबहादुर कार्कीलाई आफू अनुकूल काम नगर्ने भन्दै गाउँपालिका अध्यक्षले फिर्ता पठाएका थिए । कार्की अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हाजिर भएका छन । कर्मचारी फिर्ताको विषयलाई लिएर सर्वसाधारण र कर्मचारी वृत्तमा समेत असन्तुष्टि देखिन थालेका छन् । 

‘स्थानीय सरकार सञ्चालन २०७४ र निर्वाचन आयोगमा कुनै पनि पालिकामा निर्वाचित भएको खण्डमा मलाई मन लागेको हाकिम ल्याउन पाउने छ भन्ने कानुन बनाउने भए जाति होला, नभए यो हदसम्म गलत गर्न हिम्मत कुन मतदाताले जनप्रतिनिधिलाई अधिकार दिएका छन्’ निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन बाग्लुङका अध्यक्ष तेजप्रसाद न्यूरेले सामाजिक सञ्जालमा लेख्नुभएको छ,जानकारी पाउन पाए कर्मचारी ढुक्कसँग बस्ने थिए, नभए खटाउने एउटा पठाउने एउटा अनि चुनाव जितेर सबै संसार जितेझैँ ठान्नु ठिक हो  नारायणहिटीबाट राजा बहिर्गमन भएको छ, अनि पाँच वर्षपछि घरमै  !