अत्वार कुँवार १४ | थारु संम्बत:२६४६
१४ आश्विन २०८०, आईतवार
October 1, 2023

कैलालीको डुबान क्षेत्रमा पानीको सतह घट्दै, विस्थापितहरु अझै घर फर्कन सकेनन्

२६ आश्विन २०७९, बुधबार
कैलालीको डुबान क्षेत्रमा पानीको सतह घट्दै, विस्थापितहरु अझै घर फर्कन सकेनन्

धनगढी / करिब हप्तादिन देखिको लगातार वर्षा रोकिएसँगै कैलालीको डुबानग्रस्त क्षेत्रमा पानीको सतह घट्दै गएको छ । डुबान क्षेत्रमा पानीको सतह घट्दै जाँदा आवागमनमा सहज भएको छ । 
कैलालीको पूर्वी टीकापुर क्षेत्रमा कर्णालीको भँगालोबाट पसेको पानी रोकिएको छ । भजनी क्षेत्रमा डुबानमा परेका क्षेत्रमा पनि पानी घट्दै गएको छ ।

पूर्वी टीकापुरको साइनपुर र जानकी गाउँपालिकाको पाथभारा, खैरौलाबाट कर्णालीको भँगालोबाट बाढी बस्तीभित्र पसेको थियो । उक्त ठाउँबाट कर्णालीको पानीले क्षति बढी नपुगोस् भनेर जेसेवीलगायतका साधनको प्रयोग गरेर अस्थायी रोकथामको काम भएको छ । वर्षा रोकिएसँगै त्यस क्षेत्रबाट बाढी पस्न रोकिएको छ ।

भजनी नगरपालिका मेयर केवुल चौधरीले अविरल वर्षा रोकिएसंँगै स्थानीय थप बिस्थापित हुनबाट र विनाशबाट बचेको महसुस गरिरहेको बताए ।

‘अहिले वर्षा रोएिको छ, वर्षा रोकिए सँगै स्थानीय नदीमा आएको बाढी पनि घटेको छ,’ उनले भने, ‘अहिल्यै सडक र विद्यालयमा सरेका परिवार भने घर फर्किसकेका छैनन् ।’ उनका अनुसार भजनीका ९ वटै वडाका करिब ५ सय परिवार घर छोडेर हुलाकी सडक, स्थानीय सामुदायिक वनको छेउमा, केही परिवार विद्यालयमा सर्न पुगेका थिए ।

मेयर चौधरीले पल्टुपुरको विद्यालयमा ६४ परिवार सरेका छन् । वडा नम्बर २ मोहनपुर वडा नम्बर ६ को थापापुर, वडा नम्बर ८ को कृष्णपुर, खैरा गौचौर, सुना फाटा आदि बस्तीमा पुनः बाढी पसेर घर परिवार विस्थापित भई हुलाकी सडकमा बसेको बताए ।